Wikipedia

Search results

Sunday, February 22, 2015

अमर प्रेमको निशानी !!!

खड्गशमशेर राणा आफ्नी रानी तेजकुमारीलाई असाध्यै माया गर्थे। उनी परमधाम भइन् तर खड्गशमशेरले आफ्नी रानीको माया बिर्सन सकेनन्। अनि बनाउन लगाए, रानीमहल। अहिले कालीगण्डकीको किनारमा अमर प्रेमको साक्षी बनेर पर्यटकलाई लोभ्याइरहेछ, यो रानीमहल। 
 
एक सय २१ वर्ष पुरानो रानीमहललाई नेपालको 'ताजमहल' भनेर पनि चिनिन्छ। ऐतिहासिक, पुरातात्त्विक र वास्तुकलाको उत्तम नमुना बनेर उभिरहेछ, यो महल। अहिले यो सम्पदालाई जोगाउन जीर्णोद्धारको काम भइरहेछ। 

 
यो महललाई उपयुक्त पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पर्यटन तथा संस्कृति मन्त्रालय र पुरातत्त्व विभागले जीर्णोद्धारको काम तीव्र गतिमा बढाएको छ। तर गुठीको जग्गा संरक्षणका लागि ठोस पहल भएको छैन। 
 
जग्गा व्यक्तिहरूले निजी बनाइसकेका छन्। गुल्मी, पाल्पा र स्याङ्जाको संगम रुरु क्षेत्र आफैंमा धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको क्षेत्र हो। यही क्षेत्रको एउटा शोभा भएर उभिएको छ, रानीमहल। 
 
रानीमहल संरक्षण तथा पर्यटन विकास समितिले यसको जग्गा खोजी गर्ने प्रयास गरे पनि उपलब्धि हासिल हुन नसकेको समितिका अध्यक्ष देवीप्रसाद भट्टराई बताउँछन्। 
 
उनी भन्छन्, 'यसको वरिपरिको जग्गा व्यक्तिले धनीपुर्जा बनाइसकेको पाइएकाले किनबेचमा रोक लगाउने निर्णय भएको छ, अरू गुठीको जग्गाको आयस्ताको प्रमाणपुर्जा भेटिए पनि जग्गा भेट्टाउन कठिन भयो।' 
 
भारतको आग्रास्थित ताजमहलका संस्थापक मुस्लिम सम्राट् जहन शाह र रानी मुमताजको जस्तै आफू र रानी तेजकुमारीको प्रेमकहानी पनि लोकमा पछिसम्म अमर रहोस् भनी जनरल खड्गशमशेर राणाले यो महल निर्माण गराएका थिए। यसको बुर्जामा 'रानी तेजकुमारी शरणम्' भनी लेखिएको शिलालेख छ। 
 
मालपोतको अभिलेखमा खड्गशमशेरले महलपरिसरको खड्गमुक्तेश्वर शिवालय मन्दिर सञ्चालनका लागि पाल्पा माडी फाँटको भैंसीकट्टा ढकालेमा मोही शिवराम अर्याल र कुलप्रसाद पचभैयाले कमाएको जग्गाबाट वार्षिक तीन मुरी धान प्राप्त गर्ने व्यवस्था मिलाएको प्रमाण छ। यो क्षेत्रमा अरू पाखो जग्गासमेत गुठी अनुमान छ। 
 
त्यस्तै अर्गलीको आँटेटारीमा कुश्माखर पाण्डे र मोतीलाल पाण्डे मोही भएको जग्गाबाट वार्षिक १८ मुरी १० पाथी धान प्राप्त हुने प्रमाण भेटिएको छ। पूर्वी पाल्पाको बहादुर गाविसमा पनि गुठी भएको बुझिएको छ। 
 
माओवादी सशस्त्र युद्धकालमा राणाकालको पश्चिम नेपालको मुख्य प्रशासनिक केन्द्र एवं हालको पाल्पा जिल्लाको प्रशासन कार्यालय तानसेन दरबार ध्वस्त पारिएकाले कागजात नष्ट भएकाले जग्गा खोजीमा समस्या भएको हो। 
 
मालपोत र नापीको अभिलेखबाट पत्ता लगाउन प्रयास भइरहे पनि सफलता मिलेको छैन। रानीमहलले ओगटेको जग्गाको क्षेत्रफल तोक्नसमेत अतिक्रमणको कारण कठिन भएको छ। 
 
गुठीको आयस्ता प्राप्त हुन छोडेपछि मन्दिरको पूजा गर्ने, फूल टिप्ने र बाजागाजा बजाउने समूहले काम गर्न छोडेको धेरै वर्ष भयो। हालै जिविस र गाविस मिलेर वार्षिक ६० हजार रुपैयाँ पारिश्रमिक दिने गरी हेरालु राखिएको छ। 
 
१९५४ सालमा बनेको यो महलको संरक्षण र पर्यटकीय विकास कार्यमा २०५५ सालपछि मात्र सरकार र स्थानीयवासीको ध्यानाकर्षण भएको हो। राणाशासनको अन्त्यपछि उपेक्षाले यो प्रेमको निशानी खण्डहर बनेको थियो। 
 
अहिले स्थानीय, पर्यटन मन्त्रालय र पुरातत्त्व विभागको सहकार्यमा जीर्णोद्धार भइरहेको छ। अहिलेसम्म साढे तीन करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। तीन वर्षभित्र जीर्णोद्धार सकिने र त्यहाँ पुग्ने नौ किलोमिटर सडकको कालोपत्र पूरा गर्ने लक्ष्य छ। 
 
यो महल बनाउन पश्चिम नेपालका जनताले इँटा बनाउने, पर्खाल लगाउने र जंगलबाट काठ ओसार्ने एवं कुद्ने काममा श्रमदान गरेका थिए। चुन, सुर्की (इँटाको धुलो) आदि विशेष सामग्रीबाट यो महल बनाइएको छ।
यसमा प्रयोग भएका इँटा र अग्राखको काठ निकै बलियो छ भने विशेष वास्तुकला प्रयोग भएकाले तीनतले यो महल अहिले पनि उत्तिकै बलियो र मनमोहक छ। इँटामा खड्गशमशेर लेखिएको छ। बढी काठको प्रयोग भएकाले सुन्दर देखिन्छ। जीर्णोद्धारमा चुन, सुर्की र सिमेन्ट प्रयोग भएको छ। 
 
आफू र रानी तेजकुमारीको प्रेमकहानी पनि लोकमा पछिसम्म अमर रहोस् भनी जनरल खड्गशमशेर राणाले यो महल निर्माण गराएका थिए। यसको बुर्जामा 'रानी तेजकुमारी शरणम्' भनी लेखिएको शिलालेख छ। 
अवलोकन गर्न वार्षिक सरदर एक हजार पाँच सय आन्तरिक र पाँच सयजति विदेशी पर्यटक आएको तथ्यांक छ। तानसेन आएका प्राय: पर्यटक यहाँ आउने गरेका छन्। अब टिकट लागू गर्ने योजना छ। 
 
रुरु क्षेत्रका हृषिकेश मन्दिरको हजारौं रोपनी, अर्गली दरबारको १२ रोपनी र रानीमहलको ठूलो परिमाणको गुठी जग्गा र धनमाल खोजी र संरक्षण गर्न सरकारको तत्काल ध्यानाकर्षण हुनुपर्ने माग उक्त सम्पदा व्यवस्थापन समितिको छ। 
 
माओवादीको तानसेन दरबारमाथिको आक्रमणले यी तीनवटै सम्पदाको गुठी संरक्षणमा समस्या भएको समितिको अनुभव छ। 
 
खड्गशमशेर र रानीमहल 
 
इतिहासअनुसार १९०३ साल असोज १ गते २९ वर्षको उमेरमा प्रधानमन्त्री र सेनापति बनेका जंगबहादुर कुँवरले राणा पदवी पाए। श्री ३ महाराज पनि बने। १९४२ सम्ममा राणा परिवार सिंह र शमशेर खलकमा विभाजित भइसकेको थियो। 
 
रणद्वीप सिंहको हत्या गरी शमशेर खलकका जेठा ३२ वर्षीय वीरशमशेर श्री ३ बने। माहिला २६ वर्षे डम्बर हजुरिया जर्नेल र साहिँला २४ वर्षे खड्ग सेनापति बने। रणदेव र चन्द्रशमशेर क्रमश: पश्चिम, पूर्व र दक्षिण कमान्डिङ जर्नेल (जङ्गीलाठ) बने। 
 
यसैलाई ४२ साल पर्व भनिन्छ। वीरले खड्गलाई विश्वास गरी नेपालको सबै तैनाथको जिम्मेवारी सुम्पेका थिए। खड्गको १९४३ मा वीरको हत्या गरी श्री ३ बन्ने षड्यन्त्र असफल भयो। 
 
विश्वासघातको सजायबापत उनी पाल्पा गौंडाअन्तर्गतको अर्घाखाँचीको ठाडा निकाला गरिए। १९४५ मा वीरले उनलाई पाल्पाको पश्चिम कमान्डिङ जर्नेल (मुख्य प्रशासक) र भैरहवा, तौलिहवा, बागलुङ र पर्वतसम्मको अख्तियारी पद दिए। 
 
१९४९ मा रानी तेजकुमारीको मृत्यु भएपछि कालीगण्डकीमा संस्कार गरियो। खड्गले संस्कारस्थललाई रानीघाट नाम राखी रानीमहलको शिलान्यासका साथै त्यहाँ पुग्न तानसेनबाट घोडेटो बाटोसमेत बनाए। 
 
रानी तेजकुमारी रूपवती र सुशील महिला भएकाले खड्गको उनीप्रति अतिशय प्रेमभाव थियो। 
                                                                                                                    अन्नपूर्ण पोस्टबाट साभार !!!

No comments:

Post a Comment